आइएमई लाइफको आइपीओ विक्री खुला,१० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले आज देखि सर्वसाधारणका लागि आइपीओ विक्री गर्दैछ ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आइपीओ निष्काशन तथा बिक्री खुला गरी बाँडफाँड गरेसंगै सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको थियो ।

यस्तै पाँच प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुटाइएको छ भने बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आज देखि खुलेको आइपीओमा छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ठिलो साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ