एजेन्सी- रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण ठुलो मात्रामा कृषिजन्य क्षति बेहोर्नु परेको हो ।
ग्लोबल टाइम्सका अनुसार चीनको अन्न भण्डार भनिने हेइलोङजियान प्रदेशमा आएको बाढीले जनजीवन प्रभावित पार्नुका साथै ठूलो मात्रामा कृषि उत्पादन क्षति पुर्याएको छ । यो प्रदेशका १२ वटा नदीले खतराको सूचक पार गरेका छन् । यी नदीलाई नियन्त्रण गर्न प्रदेशमा २६ जलाशय सञ्चालनमा रहे पनि नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।
उत्तरी क्षेत्रको सोङ्घुह्वा, वुच्हाङ्ग लगायतका नदीमा बाढी आउँदा धान उत्पादनमा प्रसिद्ध क्षेत्रमा ठुलो क्षति पुगेको हो । हेइलोङजियानमा चीनकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ । सन् २०२२ मा यो प्रदेशमा मात्रै चीनमा उत्पादन हुने कूल धानको ११.३ प्रतिशत उत्पादन भएको सरकारी तथ्याङ्क छ । ‘बाढीबाट प्रभावित क्षेत्रमा कृषि उत्पादन समेत क्षति पुगेको छ,’ रुरल डेभलपमेन्ट इन्स्टिच्यूट अफ चाइनिज एकेडेमी अफ सोसियल साइन्सका अनुसन्धानकर्ता ली गुओजियाङले भने ।

जवाफ लेख्नुहोस्