काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललेमुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष अग्रवालले विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको बताउनुभयो ।
आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्नुहुँदै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताउनुभयो । “अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ”, उहाँले भन्नुभयो ।
अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताउनुभयो ।

जवाफ लेख्नुहोस्