काठमाडौं । एनसेलले आफ्नो माउ कम्पनीको स्वामित्व परिवर्तन गर्दा कर तिर्नुपर्ने भएमा कम्पनी तिर्न तयार रहेको बताएको छ।
एनसेलले आज एक विज्ञप्ति जारी गर्दै कारोबारलाई लिएर कर तिर्नुपर्ने भएमा नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै सतिशलाल आचार्यले प्रतिस्पर्धाबाटै एनसेलको शेयर खरिद भएको बताएका छन् ।आचार्यले आफूले ठूलो प्रतिस्पर्धाबाट शेयर खरिद गरेको दाबी गरेका हुन् ।
आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२२ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ ।
जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहतर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने एनसेलको भनाई छ ।
संसद्को सार्वजनिक लेखा समितिले बुधबार यस्तो कारोबार अपारदर्शी, शंकास्पद र अवास्तविक भएको भन्दै अनुसन्धान नटुंगिउन्जेल कारोबार रोक्न नेपाल सरकारलाई निर्देशन दिएको थियो। तर एनसेलले पारदर्शी प्रक्रियाबाट किनबेच गरिएको र शेयर कारोबारको मूल्य र संरचना क्रेता र बिक्रेता मार्फत निर्धारण गरिएको दाबी गरेको छ ।


जवाफ लेख्नुहोस्