काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुँदैछ।
३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ।
अधिकारीले राष्ट्र बैंकको गभर्नर हुनका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल नगरेको रिटमा दाबी गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनका लागि आवश्यक योग्यताको व्यवस्था गरिएको छ।
अधिकारीले स्नातकोत्तर (मास्टर्स)को शैक्षिक उपाधि हासिल नगरेको रिटमा दाबी गरिएको छ। अधिकारीले अर्थ मन्त्रालयमा पेस गरेको व्यक्तिगत तथा शैक्षिक विवरणमा उनले काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको र भारतको एउटा संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट (सीए)को पढाइ गरेको भनिएको छ।

जवाफ लेख्नुहोस्