काठमाडौ ।नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ७ पुसमा एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा क्रियाशील १४ जनाले निवेदन दिएका हुन् ।
मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका– ३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका– ८, काठमाडौंका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका– १४, चितवनका डा। डोलप्रसाद चापागाईं, टोखा नगरपालिका– ८, काठमाडौंका सहदेव चन्द, धनुषाधाम– २ का रामदेव यादव र राजविराज– १३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।
त्यस्तै, मोरङका तीनजना पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । टोखा– ६, काठमाडौंका दिलीपशेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका– १, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर– ८, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङ नगरपालिका– ९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका– २४ का शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् ।
आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको हो । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ ।
समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।

जवाफ लेख्नुहोस्