भृकुटीमण्डपमा फ्लोरा एक्स्पो, ७३ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहने

काठमाडौं । बिहिबार देखि काठमाडौंको भृकुटीमण्डपमा ‘२५औं फ्लोरा एक्स्पो २०८०’ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा यही २०८० चैत्र १ देखि ४ गतेसम्म ४ दिने २५औं फ्लोरा एक्स्पो हुन लागेको हो ।

मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ । एक्स्पोको उद्घाटन बिहीबार बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले गर्ने आयोजकले जनाएको छ ।

एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र एउटा फूड स्टलसहित जम्मा ७३ वटा स्टल रहने छन् ।

साथै, विगत वर्षमा र्झै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर ९गुलाब, जरबेरा र कार्नेशन प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तीकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रविधी, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । एक्स्पोलाई ५० हजार जनताले अवलोकन गर्ने तथा करिब एक करोडसम्मको व्यावसायिक कारोबार हुने संस्थाले अनुमान गरेको छ ।

Comments

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ